काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा आज बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । शनिवारको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यबारे कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरू सबै आफैंमा योग्य भएकाले उनीहरूबारे छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए ।
माओवादीका नेताहरूका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।विशेष समितिका रहने सदस्यबारे समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतवार पुनः बस्नेछ ।
को को बन्दैछन् मन्त्री ?
माओवादीले ६ मन्त्रालय पाउने भएको छ । जसमध्ये जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । अव चार मन्त्री र एक राज्यमन्त्री माओवादीले पाउने छ ।
जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट एकजना मन्त्री हुने सम्भावना छ ।