काठमाडौं । शुक्रबारदेखि जारी नेकपा एमालेको पहिलो विधान महाधिवेशन आइतबारसम्म जारी रहन्छ । पहिलो दिन सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश गर्दा–गर्दै अध्यक्ष ओलीले आफूलाई समस्या भएको बताताए । रुघा खोकीबाट ग्रस्त ओलीले प्रतिवेदन पूर्ण रुपले पढ्न सकेनन् ।
४८ मिनेट बोलेपछि ओलीले केही समय रोकिँदै पछाडि स्टेजतर्फ हेरे र बाँकी रहेको प्रस्ताव पेश गर्ने जिम्मेवारी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई सुम्पिए । ओलीले पूरा गर्न नसकेको प्रतिवेदन पोखरेलले करिब सवा घण्टामा पढेर सके ।
‘रुघाखोकीको कारणले प्रस्तुत गर्न समस्या भयो,’ पोखरेललाई जिम्मेवारी दिनुअघि ओलीले भने, ‘लामो भएको कारणले म कमरेड शंकर पोखरेललाई मेरोतर्फबाट प्रस्ताव प्रस्तुत गर्नुहुन अनुरोध गर्दछु, मेरो तर्फबाट उहाँले गर्नुहुन्छ ।’
ओलीले प्रतिवेदन बीचमै छाडेर नेता शंकर पोखरेललाई प्रस्तुत गर्न लगाउनुलाई राजनीतिक क्षेत्रका विज्ञले भने अर्थपूर्ण रुपले हेरेका छन् । उनीहरूले यसलाई उत्तराधिकारी र नेतृत्वमा आफ्नो इच्छाको विषयसँगसमेत जोड्न भ्याएका छन् । उनीहरू ओलीले शंकर पोखरेललाई उत्तराधिकारीको रुपमा हेरेको हुनसक्ने अनुमान गर्छन् ।
यद्यपि ओलीपछि उनका विश्वास पात्र एवं उप–महासचिव विष्णु पौडेल पनि नेतृत्वका आकांक्षी हुन् । महासचिव ईश्वर पोखरेलसँग भने ओलीको पहिलाको जस्तो निकटता नभएको जानकारहरू बताउँछन् । ओलीले आफूपछि नेतृत्वमा विष्णु पौडेल र शंकर पोखरेललाई देखेको उनीहरूको विश्लेषण छ । ओलीले आफ्नो उत्तराधिकारीको रुपमा शंकरलाई अगाडि सार्न चाहेको बतिपयको बुझाइ छ ।