काठमाडाैं । पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकका प्रस्थान गरेका छन् । बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् ।
नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए। पुनलाई जन्डिसको लक्षण फेरि देखिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।
नेता पुनलाई लामो समयदेखि जन्डिसको लक्षण देखिँदै आइरहेको छ। यद्यपि उनमा के समस्याका कारण जन्डिसको लक्षण देखिएको हो भन्ने विषयमा भने अझै खुलाइएको छैन।
पुनका अनुसार मंगलबारसम्मको रिपोर्ट हेर्दा स्वास्थ्यमा कुनै सुधार हुने अवस्था नदेखिएपछि सुमेरु अस्पतालका चिकित्सकसँगको परामर्शमै थाइल्याण्ड लैजाने तयारी गरिएको हो। गत साता स्वास्थ्यमा समस्या देखिएपछि पुन अस्पताल भर्ना भएका थिए।