काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वको बेला नजिकिँदै आएकाले यस्तो बेलामा आम सर्वसाधारणलाई पनि अनुभूति हुने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
नजिकिँदै गरेको हिन्दूहरुको महान चाड विजया दशमी, दिपावली तथा छठमा समेत सुरक्षा व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखाउने बेला आएको बताए ।
सामान्य अवस्थामा जस्तै चाडपर्वका बेला पनि सुरक्षा र बजार व्यवस्थापन उस्तै बनाउनेपर्ने बताए । चाडपर्वलाई लक्षित गरी महंगी, म्याद गुज्रेका खानेकुरा वितरण गरिने हुनाले बजार अनुगमनलाई तीव्रता दिन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
चाडपर्व लक्षित विभिन्न योजनाहरु ल्याइने भएपनि सम्बन्धित पक्षलाई योजना ल्याएर भन्दा पनि व्यवहारमा कार्यान्वयन गर्दा त्यसले सर्वसाधारण लाभान्वित हुने बताए । त्यसैले अहिल्ला वर्षहरुमा भन्दा यो वर्षमा आम नागरिकले फरक अनुभूति हुने गरी सम्बन्धित सबैलाई काम गर्न निर्देशन दिए ।