आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, देउवाले गठबन्धनलाई दिए यस्तो निर्देशन

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, देउवाले गठबन्धनलाई दिए यस्तो निर्देशन

सरकारले सोमबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तारको बाटो खुलेको छ। सत्ता गठनबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरूको नाम आज टुंगो लगाउने जनाएका छन्।

आजै साँझ मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ। आजै मन्त्रीको नाम उपलब्ध गराउन देउवाले गठबन्धनका शीर्ष नेतालाई निर्देशन दिइसकेका छन् । एकीकृत समाजवादी पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन मन्त्रालय दिने समझदारी बनिसकेको छ, अन्य मन्त्रालयको मात्र टुंगो लाग्न बाँकी छ। 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्रालय भागबन्डाबारे छलफल जारी रहेको बताएका छन्। यस्तै माओवादी केन्द्रबाट अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनिसकेकाले अन्य दलसँगको सहमति भएपछि मात्र मन्त्रालय टुंगो लगाउनेछ।

नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी  र राष्ट्रिय जनमोर्चाको समर्थन पाएका प्रधानमन्त्री देउवाले गत असार २९ मा ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जनालाई मन्त्री बनाएका थिए। साउन १० मा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र असोज ७ गते परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका थिए ।