चुडामणी शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

चुडामणी शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । 

विशेष अदालतका सदस्यद्वय न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको हो । 

कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमितता गरी छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दाको प्रकृयामा सहभागी हुन शर्मा सोमबार अदालतमा उपस्थित भएका थिए । उनी उपस्थित भएपछि सोमबारै थुनछेक बयान र बहस भएको थियो । विशेष अदालतले उनीसँग ५० लाख धरौटी माग गरेको छ ।

शर्मा आयोगमा हुँदा बदनियतपूर्वक कर मिनाहा गरेको देखिएकाले उनी निर्दाेष हुन भन्न सकिने प्रमाण नभएकाले उनलाई विशेष अदालतले धरौटी रकम माग गरेको जनाएको छ ।  शर्मा आयोगमा हुँदा १ अर्ब ३३ लाख बराबरको अनियमित छुट दिएको आरोप छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध  १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा लगाएको थियो ।