अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तारमा पहल गर्ने माओवादी केन्द्रको निर्णय

अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तारमा पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले  अध्यादेश फिर्ता लिएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश खारेज गर्ने तयारी भएको जानकारी गराएका थिए । 

प्रचण्डको ब्रिफिङपछि अध्यादेश फिर्ता लिएर चाँडो सरकार विस्तार गर्न पहल गर्ने निर्णय बैठकबाट भएको गणेश साहले बताए । सरकार विस्तार नभएर नकरात्मक सन्देश गएको भन्दै बैठकले  मन्त्रालयको बाँडफाँट र मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुन अध्यक्षलाई आग्रह गरेको छ । 

आजको बैठकमा जनार्दन शर्मा र देव गुरुङले पार्टी सम्मेलनको मिति हेरफेरबारे प्रस्तावसमेत राखेका थिए । प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने, स्थानीय स्तरमा हुने वडा भेला कात्तिक १३ गते र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने उल्लेख छ। बैठक भोलि दिउँसो तीन बजे पुनः बस्नेछ ।