काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनकाबारे छलफल हुने बताइएको छ । विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए।
एमालेमा मध्यमार्गी मानिएका १० नेताहरु १० बुँदेको विषयलाई लिएर रुष्ठ बनेपछि अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटी बैठक राखेर छलफल गर्ने आश्वासन दिएका थिए। आजको बैठकले उनीहरुको माग सम्बोधन गर्ने प्रयास गर्ने बताइएको छ ।
बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे पनि छलफल हुनेछ। तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।
छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए। हिजो सकिएको केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।