गति लिन सकेन भेरी बबई डाइभर्सन दोस्रो चरणको कामले

गति लिन सकेन भेरी बबई डाइभर्सन दोस्रो चरणको कामले

सुर्खेत, राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो ।

टनेल बोरिङ मेसिन (टीबीम)बाट १२।२० किलोमिटर लामो र ४।२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो । 

२०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । एक वर्षअघि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढाएको छ ।

हेड वक्र्स, बाँधलगायत अन्य काम दोस्रो चरणमा गर्नुपर्नेछ । कहिले कोरोना, कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।

भौतिक प्रगति ४८ प्रतिशत

दुई वर्षदेखि आयोजनाको दोस्रो चरणको काम चलिरहेको छ । दोस्रो चरणअन्तर्गत हेड वक्र्स र पावरहाउस निर्माण गरिने कार्यसूची आयोजनाको छ । 

जसमा आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगङ्गास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सबस्टेसनलगायत काम रहेका छन् ।

दोस्रो चरणको काम गर्ने अवधि ४८ महिनाको हो । सम्झौताअनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात् आगामी २०८० भित्र यो काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । 

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत रहेको छ । बाँकी रहेको दुई वर्षमा लक्ष्यअनुसारको काम सम्पन्न गर्न निकै ठूलो चुनौती आयोजनालाई छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले पहिलो चरणको कामको तुलनामा दोस्रो चरणको काममा केही सुस्त भएको स्वीकारे । यद्यपि, अहिले कामको गति बढिरहेकाले तोकिएको अवधिभित्र सक्ने लक्ष्य राखिएको उनको दवी छ ।

दोस्रो चरणको काम थालिएपछि विशेषगरी कोरोनाले असर पु(याएकाले काममा असर परेको हो । उनका अनुसार बाँकी दुई वर्षभित्र करिब–करिब सबै काम सकिनेछ ।

कोरोनाले आयोजना प्रभावित

कोरोना महामारीका कारण दोस्रो चरणको सुरुवातमै आयोजनाको काम प्रभावित भएको हो । ‘‘सुरुवाती चरणमा महामारीले ठूलो असर गयोर्, मजदर सङ्क्रमित भए ।

यसैकारण कामले गति लिन सकेन,’’ सुवेदीले भने , ‘तोकिएकै समयमा आयोजना सम्पन्न गर्न काम भने रोकेनौँ तर निर्माण सामग्री र सबै मजदुर काममा खटाउन नसक्दा प्रगति कम भयो ।’’

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा पनि आयोजनाको काम रोकिएको थिएन तर निर्माण सामग्रीको आपूर्ति हुन नसक्दा आयोजनाले काम रोक्न बाध्य भएको हो । कुल छ अर्ब १६ करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

मुआब्जा विवाद

भेरी बबई आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगङ्गा, गुर्भाकोट र लेकबँसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्छ । जसमध्ये झन्डै २३ हेक्टर जग्गा ऐलानी छ । तर, आयोजनाले ऐलानी जग्गाको मुआब्जा दिएको छैन ।

२२.८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाबारेमा आवश्यक कार्यविधिसमेत बनेको छैन । ऐलानी जग्गाधनीलाई के–कति मुआब्जा रकम दिने भनेर निर्धारण नटुङ्गिएका कारण मुआब्जा वितरण गर्न नसकिएको सीडीई सुवेदीले बताए ।

भेरी बबई आयोजनाबाट सुर्खेतको लेकबेँसी, गुर्भाकोट र भेरीगङ्गा नगरपालिका प्रभावित हुनेछ । लेकबेँसी नगरपालिका वडा नं. १ चिप्लेका आयोजना प्रभावित बासिन्दा टीकाराम रानाले आफूहरू आयोजनाविरोधी नभएको तर उचित मुआब्जा उपलब्ध गराउनुपर्ने बताउँछन् ।

उनले सतप्रतिशत मुआब्जा नदिइएपछि कम्तीमा ८० प्रतिशतसम्म उपलब्ध गराए आफूहरूलाई मान्य हुने उल्लेख गरे ।