अदालतको फैसला नआइ सहमतिपत्रमा हस्ताक्षर नगर्ने माधव नेपालको अडान

अदालतको फैसला नआइ सहमतिपत्रमा हस्ताक्षर नगर्ने माधव नेपालको अडान

काठमाडौं । नेकपा एमालेको एकता कार्यदलले गरेको सहमतिअनुसार सबै कुरा अगाडि बढे वरिष्ठ नेता माधवकुमार नेपाल आज साँझ बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक सोमबार साँझ ५ बजे बस्नेगरी स्थगित गरेका थिए। त्यो बैठकमा आफू पनि सहभागी हुने संकेत नेपालले गरेका हुन्।

उनले सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा फैसला गर्ने मिति तोकेकाले फैसला आएपछि बस्ने बैठकमा आफूहरु सहभागी हुनसक्ने उल्लेख गरे। 'आज भएको सहमतिको कुरा पनि त्यही हो, सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर र सर्वोच्चको फैसला प्रभावित हुनेगरी केही नगर्ने, केही नबोल्ने', नेपालले भने, 'त्यसको अर्थ भोलि सर्वोच्चले फैसला गर्यो भने त्यसपछि पार्टीमा बसेर कुरा गर्ने हो। त्यो भनेको स्थायी कमिटीको बैठक बस्ने हो। फैसलाबारे समीक्षा गर्ने, त्यसलाई पार्टीले कुन रुपमा लिने भन्नेबारे त्यहीँ निर्णय हुन्छ। हामी त्यहीँ बसेर छलफल र निर्णय गर्छौं।'

उनले विपक्षी गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि यसबारे पिर नगर्न आग्रह गरे। 'कांग्रेस र माओवादीसहित हामी नयाँ ढंगले कसरी जाने भन्ने कुरा अदालतले के फैसला गर्छ भन्नेमा निर्भर हुन्छ। कम्तिमा अदालतको फैसला कुरौं, त्यसपछि हामी बसेर यसबारे पनि निर्णय गरौंला,' उनले भने।

उनले प्रतिनिधि सभा विघटन सम्बन्धमा अदालतको फैसला नआएसम्म अरु केही पनि कुरा नगरिने प्रष्ट पारे। 'फैसला नआउँदासम्म केही गरिँदैन', उनले भने।