सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मा सहकुलबहादुर थापालाई बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार थापालाई एआईजीमा निर्णय गरेको हो।

गत सोमबार बढुवा समितिले थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। थापालाई एआईजी बनाउनकै लागि सरकारले एक एआईजीको दरबन्दी हालै थप गरेको थियो। नयाँ दरबन्दी प्रदेश समन्वय निर्देशनालयमा रहने भएको छ। 

थापा एआईजीमा बढुवा भएसँगै भावि आईजीपीको लागि पनि प्रतिस्पर्धा गर्न बाटो खुलेको छ। यसअघि एआईजी विश्वराज पोख्रेल भावी आईजीपीको एकल दाबेदार थिए। उनीहरू सँगै सेवामा प्रवेश गरे पनि पोख्रेल एसएसपीबाट अगाडि लागेका थिए। पोख्रेललाई एआईजी बनाउँदा पनि सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा नयाँ दरबन्दी सिर्जना गरेको थियो। 

थापालाई एआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ६ पुगेको छ। यसअघि एआईजी हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्की, विश्वराज पोख्रेल र प्राविधिकतर्फ आशा सिंह कार्यरत छन्। पोख्रेल बाहेकका एआईजी आईजीपीसँगै अवकास हुने भएकाले पोख्रेल र थापा मात्रै आईजीपीका दाबेदार हुन्।