काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला असार २८ मा आउने निश्चित छ। यही फैसलामा आन्तरिक खिचातानीले बिगारेको राजनीति कुन ट्रयाकमा जान्छ भन्ने कुरा निर्भर हुनेछ। संसद् पुर्नस्थापना भएमा केपी ओली प्रधानमन्त्रीबाट बाहिरिने धेरैको अनुमान छ । तर संविधानत ओली नै शक्तिशाली प्रधानमन्त्री बन्नसक्ने जानकारहरु बताउँछन् ।
संविधानको ७६ (४) अनुसार विश्वासको मतका लागि ओलीलाई संसदमा फर्काउने माग निवेदक र विपक्षी दुवैको होइन। तर पछिल्लो समय यो सम्भावना ओली पक्षले देखेको छ। त्यस्तो फैसला आयो भने प्रधानमन्त्रीमा ओलीले नै निरन्तरता पाउनेछन्। अहिले एमालेलाई एकीकृत राख्नेगरी भइरहेका वार्तारछलफलको अन्तर्य पनि प्रतिनिधि सभा पुनःस्थापना भयो भने आवश्यक सांसदको संख्या जोगाइराख्नु नै हो।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत नलिने भनेकैले ७६ (५) को प्रधानमन्त्री खोजी सुरु गरिएको थियो। सोहीबमोजिम प्रक्रिया सुरु भइसकेका कारण रिट निवेदकले पनि ओलीले विश्वासको मत लिनुपर्छ भन्ने माग गरेका छैनन्। तर अदालतले यो फैसला पनि दिन सक्ने सम्भावना नकार्न सक्ने अवस्था छैन।
धारा ७६ (४) को प्रक्रिया पूरा गर्नु भन्ने फैसला आएमा निश्चित समय तोकेर विश्वासको मत लिने मौका ओलीलाई हुनेछ। त्यो अवस्थामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ सांसदले ओलीलाई विश्वासको मत दिन सक्छन्। ओलीका साथमा अहिले एमालेका ९८ सांसद छन्। जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका २० सांसदको पनि उनलाई साथ छ।
संसदबाट विश्वास पाउन उनलाई थप १६ सांसद आवश्यक छ। ओली पक्षले पछिल्लो समय गरिरहेको कसरत पनि यसैका लागि भएको राजनीतिक विश्लेषक अनुमान गर्छन्। प्राध्यापक तथा राजनीतिक विश्लेषक लोकराज बराल यो अवस्थामा प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णायक मत एमालेका वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका सांसदकै हातमा रहेको बताउँछन्।
‘उनीहरू अहिले पनि आफ्नो निर्णयमा अडिग छैनन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिसकेका छन्। तर पार्टी एक बनाउने छलफलमा पनि जुटिरहेका छन्,’ बराल भन्छन्, ‘उनीहरूले संसद् पुनःस्थापना भयो र ओलीले विश्वासको मत लिने भए भने विश्वासको मत दिन सक्छन्।’
यसो हुँदा बाँकी अवधि पनि ओली नै प्रधानमन्त्री हुन सक्छन्। त्यसैले संसद् पुर्नस्थापना हुँदैमा देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला नहुन सक्दछ ।