काठमाडाैं । नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार बुँदागत रूपमा छलफल सुरु भएको बताएका छन्। उनका अनुसार सहमतिका बुँदामा कार्यदलका सबै सदस्यले धारणा राख्ने काम भएको छ। ‘कसरी अघि जान सकिन्छ भन्ने विषयमा भोलि छलफल हुन्छ। टुंगो तुरुन्तै नलागे पनि समस्या समाधानका दिशामा अघि बढेका छौं,’ पार्टी उपाध्यक्षसमेत रहेका रावलले भने।
मंगलबार साढे दुई घण्टा भन्दा बढी समय चलेको बैठकमा यसअघि तयार भएको मस्यौदामाथि छलफल भएको थियो। आजको बैठकले सहमतिलाई मूर्तरुप दिने बताइएको छ ।