काठमाडौं । नेकपा एमालेको एकताका लागि सोमबार साँझभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीले निर्देशन दिएपछि माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् ।
शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा रहेका बेला नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका हुन् । माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये जुम बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएको विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले जानकारी दिए ।
उनले भने– पार्टी एकता र हस्ताक्षरको कुनै सम्बन्ध छैन । जुन संसद र सांसद नै उहाँलाई चाहिएन, अहिले उनीहरुको हस्ताक्षर फिर्ता किन चाहियो ? एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन कसले रोक्यो ? फेरि पनि झुक्याउने खेल हो यो सबै ।
सांसदहरुले हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिन नहुने अडान राखेपछि माधव नेपालले पार्टी एकतामा आफू बाधक भएको भनेर सुनियोजित हल्ला चलाइएको बताएका थिए ।