काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः छलफलमा जुटेका छन् । केही दिनयता दिनहुँजसो संवादमा रहेका नेताहरुको छलफल ललितपुरस्थित समिट होटेलमा जारी छ । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी छन् । वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपालपक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य सहभागी रहेको स्रोतले जनाएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक बस्नुअघि नेताहरु छलफलमा जुटेका हुन । आज दिउँसो ३ बजे बालुवाटारमा एमाले बैठक बस्दैछ । हिजो पनि बसेको बैठकमा खनाल–नेपाल समूह अनुपस्थित रहेको थियो ।
ओली समूह बैठकमा सहभागी गराउने प्रयत्नमा छ भने खनाल–नेपाल समूह सहमतिका आधारमा अर्को बैठक राख्नुपर्ने पक्षमा छ । हिजोको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका थिए । उनले पार्टीमा रहेको दुई समूह मिलाउने जिम्मा आफूलाई दिन आग्रह गरेका थिए ।