'रामचन्द्र पाैडेल प्रधानमन्त्री, शेखर कोइराला सभापति'

'रामचन्द्र पाैडेल प्रधानमन्त्री, शेखर कोइराला सभापति'

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा आफूलाई सघाउन वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सोमबार पौडेल निवास बोहराटार पुगेर शेखरले उक्त प्रस्ताव राखेका हुन्। 

आसन्न महाधिवेशनका लागि बलियो दाबेदारीका रुपमा रहेका शेखरले पौडेलसँगको भेटमा भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्। आगामी निर्वाचनपछि प्रधानमन्त्री बनाउन मैले पार्टीको तर्फबाट पुरै सहयोग गर्छु। मलाई सभापतिमा सघाउनुस्।’

जवाफमा पौडेलले एक वर्ष मात्रै पार्टी सभापति हुने रहर रहेको बताएका थिए। मन्त्री हुँदा आफूले गरेका सकारात्मक कार्यका फेहरिस्त पौडेलले शेखरलाई सुनाएका थिए।

देश र पार्टी सञ्चालनका लागि आफूसँग विचार भएको पौडेलले बताएका थिए। पौडेलको कुरा सुनेपछि शेखरले आफ्नो प्रस्ताव राखेका थिए। दुई नेताको संवादमा शेखरले भने, ‘देश परिवर्तनको भिजन लागू गर्ने त सभापति भएर होइन। त्यसकारण तपाईं प्रधानमन्त्री बन्नुस्। म सभापति बन्छु। आफ्नो भिजन पूरा गर्नुस्। म सहयोग गर्छु।’

शेखरको प्रस्तावमा पौडेलले कुनै प्रतिक्रिया नजनाएको स्रोतले बताएको छ। दुई नेताबीच आधा घण्टा कुरा भएको थियो।