काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।
एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ। व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल गर्नका लागि बैठक राखिएको नेकपा एमालले बताएको छ। केही बेरअघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन्।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य एमालेले गरिरहेको छ। एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ। तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको छ।
यस्तै विधान महाधिवेशन भन्दा पहिले राष्ट्रिय प्रतिनिधि परिषद् गठन गर्नुपर्ने भएकाले अहिले महासचिव पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेल लगायतका नेता त्यसमा केन्द्रित छन्। माधव नेपाल पक्ष बैठकमा उपस्थित छैनन् ।