एमालेमा स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

एमालेमा स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने घएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।

पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए । विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।

विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ । माधव नेपाल पक्ष एमालेमा रहने वा नरहने कुराले पनि त्यसको मितिमा तलमाथि हुने स्रोतले जनाएको छ ।

पछिल्लो समय एमालेको शीर्ष नेतृत्व विधान महाधिवेशनको गृहकार्यमा छ । त्यसका लागि गर्नुपर्ने पूर्व तयारी र संगठनात्मक योजनाको समेत गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ । महासचिव ईश्वर पोखरेलसहितको टिमले विधान महाधिवेशनको लागि आवश्यक पूर्व तयारीको काम गरिरहेको छ ।

एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको संगठन विभागका सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।

चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिने ढकालको भनाइ छ । एमाले स्रोतका अनुसार माधव पक्ष एमालेमा रहने वा नरहने अवस्था हेरेर दशौं राष्ट्रिय महाधिवेश पनि मंसिर अघि नै गर्ने विषयमा समेत छलफल चलिरहेको छ ।

स्थायी बैठक बिहान ९ बजे बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।