सरकारविरूद्ध आन्दोदन गर्ने विपक्षी गठबन्धनको निर्णय, आज विद्यार्थी संगठनको विरोध प्रदर्शन

सरकारविरूद्ध आन्दोदन गर्ने विपक्षी गठबन्धनको निर्णय, आज विद्यार्थी संगठनको विरोध प्रदर्शन

काठमाडौं । विपक्षी पाँच दलको गठबन्धनले आजबाट सरकारविरूद्ध सडक संघर्ष थाल्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आजै विरोध प्रदर्शन गर्दैछन् ।

कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन हुने विपक्षी गठबन्धनका नेताहरूले जनाएका छन् । सडक संघर्षका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल समेत तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको तथा त्यसमा राष्ट्रपतिले साथ दिएर प्रतिनिधिसभा भंग भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्चमा मुद्दा विचारधिन रहेकै अवस्थामा सडक संघर्षमा होमिन लागेको हो ।

विपक्षी गठबन्धनका पाँच  विद्यार्थी संगठन आज सरकारविरूद्ध प्रदर्शनमा उत्रदैछन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार गरेर निराश बनाएकाले विरोध प्रदर्शनमा उत्रिन लागेको उनीहरूले जनाएका छन् । मुलुक विपत्तिमा फस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदम चाल्दै संविधान नै सिध्याउने खेलमा लागेका आन्दोलित हुन बाध्य भएको अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए ।