काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन परास्त नहुँदासम्म पाँच दलीय गठबन्ध कायम रहने बताएका छन्। सोमबार भर्चुअलरुपमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध एक भएको पाँच दलीय गठबन्धन कायम रहनेमा ढुक्क हुन नेताहरुलाई आग्रह गरे।
'प्रतिगमन परास्त नहुँदासम्म पाँच दलीय गठबन्धन कायम हुन्छ', प्रचण्डको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य रापदीप आचार्यले भने, 'हाम्रोबीचमा उच्चतम समझदारी र एकता छ यसमा कुनै कन्फ्यूजन छैन, गठबन्धन कायम रहेनमा ढुक्क हुनुस्।' गठबन्धनमा माओदी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन्।
बैठकले पार्टी छोडेर एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ। तत्कालीन माओवादीबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका उनीहरूलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही गरेको हो।