निर्वाचन आयोगको निर्णयप्रति बाबुराम रुष्ट, चोरीविरुद्ध चोरकै पक्षमा फैसला भयो

निर्वाचन आयोगको निर्णयप्रति बाबुराम रुष्ट, चोरीविरुद्ध चोरकै पक्षमा फैसला भयो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचन आयोगले आइतबार जसपाको दुवै पक्षले गरेका कारबाहीको निर्णय अमान्य रहेको बताएको थियो।

जसपाका एक अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगलाई पत्र पठाएका थिए। तर, आयोगले दुवैको निर्णय वैधानिक नभएको भन्दै कसैको कारबाहीलाई मान्यता दिन नसिकने निर्णय सुनाएको थियो।

भट्टराईले सामाजिक सञ्जालमार्फत जसपामा पुरानै कार्यकारिणी समिति र दुई अध्यक्ष रहने गरी आयोगले गरेको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भएको टिप्पणी गरेका हुन्। आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर चोरहरुले आफैँ प्रतिवाद गर्दै अर्को उजुरी दिएपछि आयोगले गलत निर्णय गरेको बताए। 

भट्टराईले आयोगले ठाकुर–महतो पक्षलाई आफूहरुले गरेको कारबाहीलाई मान्यता नदिएकोमा व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । उनले आयोगले जसपाको विवादमा दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गरेको टिप्पणी गरेका छन्। 

‘खड्गप्रसाद एण्ड कम्पनीको नयकका विधिशास्त्र: कसैले चो-यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

भट्टराईले वादी र प्रतिवादी दुबैलाई मिलेर बस्न भन्ने आयोगको निर्णय प्रधानमन्त्री केपी ओलीको इशारामा भएको हुनसक्ने तर्फ संकेत गरेका छन्।