गले प्रधानमन्त्री ओली, नेपाल-खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी

गले प्रधानमन्त्री ओली, नेपाल-खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्। नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो।

जेठ ३ गते माओवादी केन्द्र र एमाले एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। बैठक बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। 'आह्वान नै त भइसकेको छैन तर बोलाउने तयारी भइरहेको छ,' उनले भने।

ओलीले वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाललाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका हुन्। त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ। तर त्यसका लागि नेपाल-खनाल सहभागिताको सुनिश्चितताको खोजी भइरहेको छ।

नेपाल-खनाल समूहले भने कारवाही जारी नै भएको अवस्थामा एकता सम्भव नभएको भन्दै बैठकमा सहभागी हुने बारेमा केही बताएको छैन। ओलीले नेपाल-खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए। ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो।

एकताका लागि ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई फिर्ता लिनुपर्ने शर्त राखेकोमा नेपाल खनालले शर्त अस्वीकार गरेको हो। नेपालले नयाँ पार्टीको तयारी गरेपनि उनको समूहका दोस्रो तहका नेताहरुले भने एमाले छोड्न नहुने मत राखिरहेका छन्।