काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले यस्तो चेतावनी दिएका हुन्।
शनिबार संयुक्त प्रेस वक्तब्य जारी गर्दै उनीहरुले प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको टिप्पणी गरेका छन्।
यस्तो बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको उनीहरुको ठहर छ ।
‘यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भू(बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ । विशेषतः चुरे र महाभारत श्रृंखलामा हुने त्यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरू सुक्ने तथा तराई क्षेत्र मरुभूमीकरण हुने स्थिति उत्पन्न हुने वातावरणविद्हरुको भनाई रहेको छ ।’
उनीहरुले अपीलमा उल्लेख गरेका छन्, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’
उनीहरुले काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिँदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरूलाई समेत आग्रह गरेका छन्।