काठमाडौं । जसपा नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस सहभागी भएको छ । जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका काँग्रेसका ३ मन्त्रीले बुधबार राति प्रदेश प्रमुख राजेश झाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काँग्रेसबाट मन्त्री बन्नेमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन् । यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन भएका छन् ।
जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेससँग सहकार्यको हात बढाएका हुन् । जसपाले माओवादीलाई पनि सरकारमा सहभागी गराउन खोजेपनि मन्त्रालयमा भागबण्डा मिल्न नसकेपछि माओवादी तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।
केन्द्रदेखि प्रदेशसम्म सुरुदेखि नै प्रतिपक्षमा बसेको काँग्रेस राजनीतिक समीकरण बदलिएसँगै सरकारमा सहभागी भएको हो । यसअघि कर्णाली प्रदेश सरकारमा सहभागी भएको काँग्रेस बुधबारदेखि प्रदेश २ सरकारमा पनि सहभागी भएको हो।