मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय, प्रमुख सचेकत फेरिए

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय, प्रमुख सचेकत फेरिए

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसदमा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मतको प्रयोजनका लागि संसद सचिवालयमा आइतबार पत्र दर्ता गराएका थिए । 

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको एमाले संसदीय दलको  प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन्  ।

यसैगरी मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विश्वासको मत पाउने अवस्था आएमा कांग्रेस तटस्थ बस्ने निर्णय भएको कांग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए ।

हाल ५२ सदस्य रहेको प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको मत आवश्यक पर्छ । एमालेका २४ सांसदमध्ये आफ्नो पक्षमा कम्तीमा १५ जना रहेको खनाल–नेपाल पक्षको दावी छ । माओवादीका १३ सांसद छन्। 

माओवादी संसदीय दलका सचेतक अक्कल रावलले एमाले संसदीय दलले सरकारलाई समर्थन कायम राख्ने निर्णय गरिसकेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने दावी गरे । केही समयपछि प्रदेशसभाको बैठक सुरु हुँदै छ । बैठकमा विश्वासको मतबारेमा छलफल हुने छ । 

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी हेरफेर गरिएको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकको जिम्मेवारी दुर्गाकुमारी कामीलाई दिएका छन् । उनी गत साता सचेतकमा नियुक्त भएकी थिइन । 

गत १४ जेठमा प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई जिम्मेवारी दिइएको थियो । खड्का सामाजिक विकास मन्त्री बनेपछि कामीलाई जिम्मेवारी दिइएको हो ।