मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, को को बन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, को को बन्दैछन् मन्त्री ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले खाली मन्त्रालयलाई पूर्णता दिने गरी मन्त्रिपरिषद् पुर्नगठनको तयारी गरेका छन् । आजै बेलुकासम्म थप मन्त्री नियुक्ति गर्ने बालुवाटारको तयारी रहेको छ ।

शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् । खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई समेत समेट्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दो पात्रको खोजी गरेका छन् । यसक्रममा महेश बस्नेत र खगराज अधिकारीको नाम चर्चामा छ । एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने पक्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद बनेका व्यक्ति हुन् ।

त्यसैगरी पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ । दैलेख घर भएकी पार्वती बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा उपस्थिति थिइन् । माधव नेपाल समूह छाडेर उनी ओली समूहमा लागेकी थिइन् ।

पूर्वबाट विशाल भट्टराई र राजेन्द्र राई (धनकुटा) को नाम चर्चामा छ । गण्डकीबाट विद्या भट्टराईको नाम पनि चर्चामा छ । 

राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चित्त बुझाउने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । त्यस्तै कर्णाली प्रदेश सरकारको राज्यमन्त्रीबाट निकालिएका अछामका प्रकाश रावललाई पनि मन्त्री बनाउने तयारी छ । त्यस्तै माओवादीबाट निकालिएकी प्रदेश २ कि प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ ।

त्यसो त पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पनि गृहमन्त्रीमा दोहोरिने चाहना व्यक्त गरेका थिए ।