काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाएका हुन्। सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पूर्ण बैठक जेठ १३ गते नै निर्धारण गरिएको थियो।
आजको बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाइएको जनाइएको छ।
संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीश विवादमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले इजलास नै विघटन गर्दै नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने बताएका थिए।
आज बस्ने पूर्ण बैठकले अहिले देखिएको संवैधानिक इजलासको विवादलाई समाधान गर्ने सक्ने बताइएको छ। विविध विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको भएपनि दुई न्यायाधीशले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि इजलासको विवादकै बारेमा छलफल हुने बताइएको छ।
यसअघि प्रधानन्यायाधीश राणा र सर्वोच्च अदालतको बार एशोसियसनका पदाधिकारीहरूसँग भएको छलफलमा नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा इजलास गठन गर्ने व्यवस्था गर्ने सहमतिलाई कार्यान्वयन गर्न फुल कोर्ट बोलाएको हुनसक्ने अनुमान गरिएको छ।