को-को बन्दैछन् जसपाबाट मन्त्री ?

को-को बन्दैछन् जसपाबाट मन्त्री ?

काठमाडौं । जनता समाजावादी पार्टी (जसपा) नेपालको एक समूह पार्टी फुटाएर भए पनि सरकारमा सहभागी हुने गृहकार्यमा जुटेको छ। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेको हो। मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलेमा यसै साता ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुँदैछ।

त्यसका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतका नेताहरुसँग ठाकुर महतोले संवाद तीव्र पारेका छन्। सोमबार पनि द्विपक्षीय परामर्श भयो।

जसपाकै अर्को समूह अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई सरकारको विपक्षमा छन्। सरकारमा सहभागी भए पार्टी एक नरहने यादव समूहको चेतावनी ठाकुर-महतोले लत्याउँदै आएका छन्।  

जसपाका नेताहरु राजनीतिक रुपमा विभाजित छन्। ओली  र ओली इतरको पाँच दलको गठबन्धनमा विभाजित जसपाका नेताहरु अब पार्टी एक नरहने दाबी गरिरहेका छन्। दुबै समूहले एक अर्कालाई पार्टीबाट निष्कासनको तयारीस्वरुप शनिबार स्पष्टीकण सोधेका थिए। सोमबार बालुवाटारमा जसपाका ठाकुर-महतोले सरकारमा सहाभागी हुनका लागि गृहसहितको मन्त्रालयमा दाबी गरेको बालुवाटार निकट स्रोतले बताएको छ।

ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पनि जसपाका नेताहरुसँग सरकारमा सहभागी गराउनेबारे ओलीले छलफल थालेको बताए। उनले जसपालाई मात्रै नभइ अरु विपक्षी दललाई पनि सरकारमा सहभागी गराउने रणनीति अनुसार सबै दलसँग छलफल हुने बताए।

सर्वोच्च अदालतले माओवादी केन्द्रका सांसद नरहेको नेताहरुलाई मन्त्रीबाट पदमुक्त गर्न फैसला गरेपछि ओलीसँग हाल ८ मन्त्रालय रिक्त छन्। रक्षा, गृह, जलस्रोत तथा सिँचाइ, उद्उयोग वाणिज्य तथा आपूर्ति, सहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद गरी ओलीसँग हाल ८ मन्त्रालय खाली छन्।

पूर्व गृहमन्त्री रामबहादुर थापालाई सरकारमै सहाभागी गराउने पहल स्वरुप राष्ट्रियसभाको वाग्मती प्रदेशमा उम्मेद्वार भए पनि बादल पराजित भए।

जसपाका एक नेताका अनुसार बालुवाटारमा भएको सोमबारको वार्तामा ८ मन्त्री र २ राज्य मन्त्री सरकारमा जानेबारेमा सहमति भएको छ। जसपाले संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा कि शरतसिंह भण्डारी नेतृत्वमा सरकारमा जाने भन्नेबारेमा भन्ने टुंगो लागइसकेको छैन।

जसपाले गृहसहितका मन्त्रालयमा दाबी गरेको छ। यद्यपि गृह मन्त्रालय नपाए पनि अरु मन्त्रालयमा पनि सहमति गरेर सरकारमा जाने ती नेताले बताए। भोलि नै मन्त्रिपरिषद् विस्तार हुने र जसपा सरकारमा जाने ठाकुर निकट स्रोतले बताएको छ।

राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, विमल श्रीवास्तव, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, चन्दा चौधरीलागायतका नेता मन्त्री बन्ने लाइनमा छन्।