काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बिहान ११ बजे डाकिएको बैठकमा बजेट अध्यादेश सिफारिस गर्ने तयारी भएको छ । बजेटका लागि आवश्यक सबै तयारी पूरा भएकाले त्यसलाई आधिकारिता दिन मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबाट बजेट भाषण गर्ने तयारी छ । विपक्षी दल र विज्ञहरुको दबाबका बीच सरकारले आजै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो ।
प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरेका थिए । अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८-७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।
छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् । अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।