काठमाण्डौं नेपालगन्जस्थित भेरी अस्पतालका नर्समाथि कुटपिट भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा नेपाल चिकित्सक संघ, बाँकेका अध्यक्ष डा विनोद कर्ण, नेपाल नर्सिङ संघ, बाँकेकी अध्यक्ष, लक्ष्मी केसी, नेपाल प्रहरीका डिएसपी, सरकारी वकिल कार्यालयका प्रतिनिधी तथा अस्पताल विकास समितिका सदस्य सहित ७ जनाको समिति बनेको अस्पतालका मेसु डा।प्रकाश थापाले जानकारी दिए ।
अस्पतालमा उपचार गराइरहेका एकजना आफन्तको मृत्यु भएपछि दाङका मानबहादुर रावतलगायतको समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेका थिए ।
उनीहरूले नर्सका घाँटी थिचेका थिए । भने केही स्वास्थ्यकर्मीहरूले अस्पतालको एक तला माथिबाट हाम्फालेका थिए ।
दाङ तुलसीपुर उपमहानरपालिका–११ उरहरीनिवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । त्यही विषयमा विवाद हुँदा मृतकका भाइ मानबहादुरलगायतको समूहले अस्पताल तोडफोड गर्दै नर्स तथा डाक्टरमाथि हातपात गरेका हुन् ।
हातपात गर्ने मानबहादुरलगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यता अस्पतालमा स्वाथ्यकर्मी भने घटनाको विरोध गर्दै बिरामीको उपचारमा खटिएका छन् ।
मानबहादुर रावत एमालेका कार्यकर्ता हुन् । उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् । गृह जिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन् ।