काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीप्रति आक्रोश ब्यक्त गरेका छन् । उनले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधान समाप्त पार्ने काम भएको टिप्पणी गरेका छन् ।
शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले राष्ट्रपतिले पदीय मर्यादा भुलेर मध्यरातमा संविधान च्यातेको टिप्पणी गरे । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरी निर्वाचनको मिति तोकेपछि डा कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो,’ उनले लेखेका छन्, ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ ।’
राष्ट्रपतिको यो कदमले संविधान समाप्त पार्ने काम भएकाले क्षम्य नहुने कोइरालाको टिप्पणी छ । ‘संविधानलाई समाप्त गर्ने काम भएको छ । राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन,’ उनले लेखेका छन् ।