मुसलधारे पानीका बीच राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी

मुसलधारे पानीका बीच राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी

हेटौडा । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन सुरु भएको छ। प्रदेश राजधानी हेटौंडामा अहिले ९ बजेदेखि मतदान सुरु भएको हो। मुसलधारे पानीका बीच अहिले मतदान जारी छ।  

गृहमन्त्री रामबहादुर थापा बादल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मतदान स्थलमा पुगिसकेका छन्। हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा राखिएको मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान चल्नेछ।

कोरोना सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनमा मतदान स्थल र मतदान केन्द्रमा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्‍न श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार संक्रमित भएका मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । तर एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल भएको भन्दै उनलाई जिताउन आफ्ना मतदातालाई ह्वीप जारी गरेको छ।

एमालेकै वरिष्ठ नेता माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा कांग्रेस, माओवादी केन्द्र र जसपाको साझा उम्मेदवार छन्।  नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन्।  उपनिर्वाचनमा प्रदेश सभाका सदस्य, प्रदेशभरका नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले मतदान गर्न पाउनेछन्।

बागमती प्रदेश सभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष २ सय ३८ जना गरी कुल ३ सय ४७ जना मतदाता छन्।  एक जना प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षको मतभार १८ गणना हुन्छ।

मतदान सकिएलगत्तै आजै मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो।