घट्दैछ संक्रमणको दर, जेठ १३ पछि हट्ला त काठमाडौंको निषेधाज्ञा ?

घट्दैछ संक्रमणको दर, जेठ १३ पछि हट्ला त काठमाडौंको निषेधाज्ञा ?

काठमाडौं । काठमाडौंमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर घटेको छ । पछिल्ला तीन दिनयता देशभर नै उकालो लागेको संक्रमणको दर केही घट्दो क्रममा देखिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार वैशाख २८ गतेसम्म संक्रमण दर ४८ प्रतिशत पुगेको थियो भने आइतबार (हिजो) ३२ प्रतिशतमा झरेको थियो । 

पराजुलीले भने, “पीसीआर गर्नेहरु पनि बढेका छन् । यसबाहेक निषेधाज्ञामा कडाई गरेका छौं । मास्क नलगाई हिड्नेलाई कारवाही गरेका छौं । स्वास्थ्य मापदण्ड पालना गरेरनगरेको अनुमगन भइरहेको छ ।”

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार दैनिक तीन सिफ्टमा ४ हजार ५०० प्रहरी परिचालन भएका छन् । एक सिफ्टमा १ हजार ५०० प्रहरी खटिने गरेका छन् । यसबाहेक सशस्त्र प्रहरी पनि परिचालित छन् ।

निषेधाज्ञाका बीचमा अत्यावश्यक कामबाहेक निस्किएका २० हजारभन्दा बढी सवारी–साधनलाई होल्ड गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार वैशाख १३ गतेपछि हालसम्म २ लाख ३० हजारभन्दा बढीले काठमाडौं छाडेका छन् । काठमाडौं प्रशासनले अत्यावश्यक कामका लागि घर जानेहरुलाई सम्बन्धीत स्थानीय तहको सिफारिसका आधारमा सहजीकरण गर्दै आएको छ । वैशाख १६ गतेबाट लागु भएको निषेधाज्ञा यही जेठ १३ गतेसम्म तोकिएको छ ।

संक्रमणको दर घट्दै गएको अवस्थामा जेठ १३ गतेबाट निषेधाज्ञा हट्छ भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, “अहिले नै हट्छ भनेर त भन्न सकिँदैन । अझै १० दिन बाँकी छ । त्यो बेलासम्म संक्रमणको दर कस्तो रहन्छ त्यसका आधारमा निर्णय हुन्छ ।”

संक्रमणको दर घट्दै गए निषेधाज्ञा केही खुकुलो हुनसक्ने अनुमान भने हुँदै आएको छ । भारतमा पनि केही दिनयता संक्रमणको दर घट्दो छ । जसले नेपालमा पनि संक्रमणको दर घट्छ कि भन्ने आंकलन हुँदै आएको छ ।