काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिपछि पार्टीमा लामो समयदेखि चल्दै आएको विवाद किनारा लाग्ने सम्भावना बढेको छ। नेपालले अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काइनु पर्ने माग गर्दै आएका छन्। सो मागमा ओली लचिलो भएपछि विवाद समाधानको सम्भावना देखिएको छ। यसका लागि कार्यदल बनाउने सहमति ओली र नेपालबीच भएको छ।
दोस्रो तहका नेताहरुले आपसमा विभिन्न चरणको छलफल गरेपछि दुई नेताबीच बुढानीलकण्ठ चपली हाइटस्थित एक व्यापारीको घरमा चार घण्टा वार्ता चलेको थियो। वार्तापछि नेता नेपालले आफूहरु सहमतितर्फ अघि बढेको बताएका छन्। कार्यदल निर्माण गर्ने सहमति भए पनि त्यसको औपचारिक घोषणा भएको छैन। नेपालनिकट एक स्थायी कमिटी सदस्यले जेठ २ कै संरचनालाई ब्युँताउने समझदारी भएको बताए।
ओली पक्षले २०७५ भन्दा देश धेरैअघि गइसकेको भन्दै त्यसमा जान नसकिने बताउँदै आएको छ। जनवर्गीय संगठन, जिल्लादेखि पालिकासम्मको संगठनको संरचनालाई आयोजक कमिटी बनाउने सहमति भएको छ। तर, त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न बाँकी छ।
नेपाल पक्षले जेठ २ मा जसले सो कमिटीको नेतृत्व गरेका थियो, उसैलाई निरन्तरता दिनु पर्ने अडान राख्दै आएको छ। ओली पक्षले भने त्यस्तो व्यक्तिलाई माथिल्लो जिम्मेवारी दिन सकिने तर अहिले पुनर्गठन भएको अनुसारकै कमिटीमा जानुपर्ने धारणा राख्दै आएको छ।
त्यस्तै, दुवै पक्षबीक्षबीच केन्द्रीय र स्थायी कमिटी नेकपा कालअनुसारकै बनाउनेमा सहमति छ। तर, पहिले जेठ २ को कमिटीको बैठक राखेर माओवादीबाट आएका नेताहरुको व्यवस्थापन गर्ने कि पूर्वमाओवादी सहितका नेताहरु बैठक राख्ने भन्ने विषयमा अध्यक्ष ओली र नेता नेपालबीच सहमति जुट्न बाँकी छ।