भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो ।
डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन ।
पछि डा नागरको परिवारका सदस्य घटनास्थल पुगे अनि प्रहरी एसपीलाई आफूहरू शवको पोस्टमोर्टम नगराउने भनी निवेदन दिए । त्यसपछि उनीहरूले लाश लगे । यसरी पोस्टमोर्टम नगरी शव लगेकोमा विवाद भएको छ ।
डा नागरले आफूलाई ज्यानको खतरा रहेको भनी बताउँदै आएका थिए । उनले प्रहरी अधीक्षक शुगन गौतमलाई पत्र लेखेर ज्यानको खतराका विषयमा अवगत गराएका थिए ।
अहिले शंकास्पद अवस्थामा उनको लाश भेटिँदा हंगामा मच्चिएको छ । तर उनलाई चिनीरोग र मुटुरोगको समस्या रहेको भन्दै परिवारले पोस्टमोर्टम नगरी शव लगेकाले प्रहरीले कारवाही अगाडि बढाउन पाएको छैन ।