काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । राजीनामा दिने विषयलाई लिएर बसेको बैठकले तत्काल राजीनामा नदिने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको हो ।
यसअघि नेपाल पक्षले ओलीले आफूहरूले राखेका मागमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएपछि सामूहिक राजीनामाको बाटोमा जाने तयारी गरेको थियो । आज प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वातावरण बनाउन नेपाल समूहले सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम' दिएको थियो।
नेता नेपालले आइतबार राति ओलीलाई ६ बुँदे पत्र लेखेका थिए। उक्त पत्रमा उनले सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका थिए। त्यस्तै त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरणलगायत निर्णय खारेज गर्नुपर्ने नेपालको माग थियो।
उक्त पत्रबारे अध्यक्ष ओलीले कुनै रेस्पोन्स नगरेकाले नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।