सामूहिक राजीनामा दिनेबारे माधव नेपाल समूहले निकाल्यो यस्तो निष्कर्ष

सामूहिक राजीनामा दिनेबारे माधव नेपाल समूहले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले तत्काल राजीनामा नदिने भएका छन् । लामो छलफल र परामर्शपछि नेता नेपाल समुहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका हुन् । नेता नेपालले आफूनिकट सांसदहरु र केही प्रभावशाली नेताहरुसँगको लामो छलफलपछि यस्तो निश्कर्ष निकालेको बताइएको छ । पार्टीभित्रको अन्तरविरोधको कारण नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु अगाडी नै सामूहिक राजीनामा दिने बताइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । ओलीलाई हटाउन जे पनि गर्नसक्ने लाइनमा रहेका नेपाल समूहले तत्काल राजीनामा नदिएर नयाँ रणनीति बनाउने भएका हुन् ।

त्यसका लागि जनता समाजवादी पार्टी, नेपाललाई नेपाल समूहले विश्वासको मतको विपक्षमा उभ्याउन प्रयत्न गर्ने योजना बनेको बताइएको छ । सोहीअनुसार नेता नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफलमा छन् । जसपामा भने प्रधानमन्त्री ओलीलाई साथ दिने वा नदिने भन्नेबारे एकमत देखिएको छैन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । उता, माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मत लिने प्रधानमन्त्रीको योजनालाई विफल तुल्याउने निर्णय गरिसकेको छ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर भने ओलीलाई साथ दिनुपर्ने पक्षमा देखिएका थिए । तर, पछिल्लो समय उनलाई साथ दिने नेताहरु नै यादवको कित्तामा पुगेकोले जसपा पनि ओलीलाई विश्वासको मत नदिने पक्षमा पुगेको नेताहरुले निश्कर्ष निकालेका छन् ।