सांसद संक्रमित भएको बाहनामा विशेष अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को तयारी !

सांसद संक्रमित भएको बाहनामा विशेष अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को तयारी !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक क्याबिनेट बैठक बोलाएका छन् । नियमित बैठक सकिएको तेस्रो दिन आज साँझ ५ बजे बिना कुनै विशेष एजेन्डा बैठक बोलाइएको हो । पर्सि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्रीले परिस्थिति अनुकूल नदेखेपछि केही महत्वपूर्ण निर्णय लिन क्याबिनेट बैठक बोलाएको हुनसक्ने अनुमान गरिएको छ ।

क्याबिनेटको नियमित बैठक सोमबार या बिहीबार राख्ने गरिएको छ । दुई दिनअघि मात्र बैठक बसेको थियो । आज शनिबार अकस्मात बैठक बोलाइएपछि प्रधानमन्त्रीले संसद्को विशेष अधिवेशन स्थगित गर्न खोजेको अनुमान गरिएको छ ।

पहिले नै १४ जना माननीय कोरोना पीडित भएकोमा आज पार्वता बिसी चौधरी,नरमाया ढकाल,रामबाबु यादव,सुरेशकुमार राई,पुष्पा कर्ण कायस्थ,लेखा समिति सभापति भरतकुमार शाह,प्रमोद साह,नीराकुमारी साह र महेश बस्नेत पनि संक्रमितको सूचिमा थपिएका छन्  ।बालुवाटार स्रोतले विशेष अधिवेशन स्थगनको सम्भावना बढेको बतायो । स्रोत भन्छ, ‘कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ,मन्त्रीज्यूहरु नै संक्रमणको शिकार हुनुपरेको अवस्था छ । त्यसैले अधिवेशन स्थगित हुने सम्भावना उच्च छ । यसबारे आजको क्याबिनेटले निर्णय गर्न सक्छ ।’

बालुवाटार निकट स्रोतले कोरोनालाई कारण देखाए पनि यथार्थमा भने राजनीतिक परिस्थिति प्रतिकूल बन्दै गएपछि ओली अधिवेशन स्थगित गर्ने मनस्थितिमा पुगेको बताइन्छ । माधव नेपाल खेमासँग कुरा नमिलेको र जसपाले चाहेजति भोट दिने अवस्था नदेखेपछि ओली तत्काल विश्वासको मत नलिने सोचमा पुगेको सुन्नमा आएको छ ।

आफैंले बोलाएको अधिवेशनबाट फिर्ता हुन अप्ठेरो हुने भएपछि कोरोना संक्रमणलाई कारण देखाएर ओलीले संसद छेक्ने रणनीति अघि सारेको विपक्षीको आरोप छ । जसपा बरिष्ठ नेता राजेन्द्र महतोले पनि विशेष अधिवेशन स्थगनको सम्भावना बताएका छन् ।

त्यसो त,कोरोना संक्रमण पनि डरलाग्दो गरी फैलिएको छ । सरकारका चार मन्त्री तथा दर्जनौं सांसद संक्रमित भैसकेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनाल,जसपा नेता तथा सँसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण,तनहुँका चर्चित सांसद किसान श्रेष्ठ,सरिता न्यौपाने,डा।दिपकप्रकाश भट्ट लगायत ३० जना सांसदलाई कोरोना लागेको बताइएको छ । संसद सचिवालयका एक उपसचिव कृष्ण खनालको कोरोना संक्रमणकै कारण हिजो मृत्यु भएको थियो ।

त्यस्तै,प्रधानमन्त्रीका निजी सचिव इन्द्र भण्डारी,प्रेस सल्लाहकार सूर्य थापा,संसद सचिवालयका १९ जना सुरक्षाकर्मी,६ जना मर्यादापालक र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका ४ जना कर्मचारीमा पनि कोरोना देखिएको छ । अनिवार्य परीक्षण गर्दा प्रतिनिधिसभाका कूल माननीयको १०५ संक्रमित देखिनु डरलाग्दो पक्ष हो । यही अनुपातले कूल जनसंख्यामा स्वास्थ्य परीक्षण गर्दा नतिजा अझ नराम्रो आउन सक्छ १ स्वास्थ्य मन्त्रालयले दैनिक ल्याउने नतिजा त र्याण्डमको मात्रै हो ।