ओली-नेपालबीच सहमति भएको हो ? के भन्छन् माधव नेपाल ?

ओली-नेपालबीच सहमति भएको हो ? के भन्छन् माधव नेपाल ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू पार्टीलाई एकतावद्ध बनाउन लचकता अपनाउन तयार रहेको बताएका छन्। तर अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पारेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालबीच सहमति भयो भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति स्पष्टीकरण दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘हामी सिद्धान्त निष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’ 

त्यस्तै नेपालले फागुन २८ पछि भएका बैठक र त्यसले गरेका निर्णय पनि फिर्ता हुनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।  यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’