कोरोनाविरुद्ध खोप लगाएकामा पनि संक्रमण देखिँदै, आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाई

कोरोनाविरुद्ध खोप लगाएकामा पनि संक्रमण देखिँदै, आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाई

बिराटनगर । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड भ्याक्सिन लगाएका व्यक्ति पुन संक्रमित भएमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्। कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि भ्याक्सिन लगाएकाहरु संक्रमित हुने क्रम बढिरहेको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटु र मृगौला रोग विशेषज्ञ एवं मेडिसिन प्रोफेसर डा संजीव शर्माका अनुसार खोप लगाएकाहरुलाई खोप नलगाएका संक्रमित जस्तो स्वास्थ्य जटिलता देखिने संभावना कम रहन्छ।

उनले भने, ‘कोभिड- १९ विरुद्धको खोप लगाएकालाई संक्रमण हूँदैन भन्ने छैन। तर यसले अन्य संक्रमितलाई जस्तो गाह्रो अवस्थामा भने पुग्न दिदैन। खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ तर, गम्भीर अवस्था भने हुदैन।’

खोप लगाउँदा पहिलो दुईसाताबाट शरीरमा प्रतिरक्षा प्रणालीको विकास सुरु हुने भएकोले शरीरमा प्रतिरक्षा प्रणालीको पूर्णरुपमा विकास हुन दुई महिना समय लाग्ने डा शर्माले बताए। शरीरमा प्रतिरक्षा प्रणालीको विकास भएपछि संक्रमणले असर नगर्ने उनले बताए।
शर्माले उक्त समयअवधिभर सबै स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताए।

डा शर्माले भने, ‘खोप लगाएपछि शरीरभित्र प्रतिरोधात्मक क्षमता बढ्ने हो, बाहिरबाट शरीरमा भाइरसको प्रवेशमा रोक लाग्ने होइन्। त्यसपछि शरीरमा भाइरस प्रवेश गरेपनि शरीरमा उत्पन्न प्रतिरक्षा प्रणालीले विस्तारै काम गर्नेछ।’

डा शर्माका अनुसार खोप लगाएका व्यक्तिलाई गम्भीर प्रकृतिको कोभिड हुँदैन र संक्रमित भएपनि मृत्युको जोखिम अत्यन्तै न्यून रहेको प्रस्टाए। शर्माले खोप लगाएकामा संक्रमण भन्दै अफवाहको पछाडि नलाग्न आग्रह गरे।

विराटनगरमा उपचाररत संक्रमित मध्ये कोभिड संक्रमण विरुद्धको खोप लगाएका मानिसहरुको संख्या ठूलो रहेको छ। विराटनगर महानगरपालिकाद्वारा बैजनाथपुरमा सञ्चालित क्वारेन्टिनमा रहेका ११ मध्ये ३ जनाले खोपको दोस्रो डोज समेत लगाएका छन्।

क्वारेन्टिनका स्वास्थ्य इन्चार्ज भोला तिम्सिनाका अनुसार उनीहरुले खोप लगाएको २ साता पुरा नभई संक्रमण भएको हुनसक्छ ।

त्यसैगरि, विराटनगर महानगरपालिका १२ का एक ३५ वर्षीय पुरुष गएको एकसातादेखि संक्रमणका कारण होम आइसोलेसनमा रहेका छन्। गत चैत्र २ गते कोभिशिल्ड खोपको पहिलो डोज लगाएका उनलाई एकदिन मात्र ज्वरो आएको थियो। उनि अहिले महानगरपालिकाले उपलब्ध गराएको चिकित्सकको सल्लाह अनुसार खोकीको औषधी नियमित खाइरहेको र वाफ लिइरहेका छन्।

विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार केन्द्रमा २ जना संक्रमितले खोप लगाईसकेका छन्। साहका अनुसार उपचाररत १ जनाले दोस्रो चरण र अर्का एक जनाले पहिलो चरणको खोप लगाएका हुन्। हाल केन्द्रमा ४१ पुरुष र १० महिला गरि ५१ जना संक्रमितको उपचार भईरहेको छ।

बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा १ सय ४२ जना संक्रमित उपचारमा रहेका छन्। अस्पतालको कोभिड १९ अस्पतालका इन्चार्ज सुनिल देवले संक्रमित बिरामीको चाप बढ्दै गएको हुदाँ खोप लगाएको विषयमा जानकारी नभएको बताए। त्यसैगरि, नोबेल शिक्षण अस्पतालमा हाल १ सय ३२ जना संक्रमित उपचाररत रहेकाछन्।