चर्को ब्याजदरबारे एनआईसी एसियालाई राष्ट्र बैंककाे जवाफ माग

चर्को ब्याजदरबारे एनआईसी एसियालाई राष्ट्र बैंककाे जवाफ माग

काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएको खबरपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईशी एशिया बैंकलाई पत्रकार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ले बैंकलाई पत्र काटिएको पुष्टि गरे । उनका अनुसार अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको हो । बैंकले जवाफ भने फर्काएको छैन ।

‘यो सुपरीवेक्षण विभागले गर्ने कुरा हो, जवाफ माग गरेर पत्र काटिएको छ’ नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’ बैंकको जवाफपछि मात्रै के गर्ने भनेर सुपरीवेक्षण विभागले निर्णय गर्नेछ ।

एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी घर खाइदिएको आरोप समेत झेल्दै आएको छ । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।

बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ ।

बेस रेटमा सामान्य तया २ प्रतिशत प्रिमियम जोडेर अन्य बैंकहरुले ऋण लगानी गर्दै आएका छन् । तर बैंकले ९ प्रतिशतसम्म प्रिमियम जोडेको भन्दै आलोचना भएको छ ।