काठमाडौं । सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लुकाएको भेटिएको छ । शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले बताएको संख्या र सरकारले सार्वजनिक गरेको संख्यामा फरक परेपछि यस्तो खुलेको हो ।
मंगलबार काठमाण्डौ उपत्यकामा मात्र नेपाली सेनाले ५० वटा शवको व्यवस्थापन गरेको बताएको छ । जबकी सरकारले देशभरमा मृत्यु हुनेको संख्या ५५ जना मात्र सार्वजनिक गरेको थियो ।
त्यतिमात्रै होइन पछिल्लो १० दिनको सरकारी विवरण र सेनाको विवरणमा पनि अत्यधिक फरक देखिन्छ । सेनाको तथ्यांक अनुसार वैशाख १० देखि २० गतेसम्म मात्रै ४५५ शव व्यवस्थापन गरेको जनाएको छ ।
अहिलेसम्म सरकारी विवरणभन्दा बढी सेनाले २४१ जना मृतकको शव व्यवस्थापन गरेको तथ्यांकले देखाउँछ । वैशाख १० गतेपछि पनि सरकारले सार्वजनिक गरेको मृतकको संख्या र शव व्यवस्थापनको संख्या फरक छ ।
सेनाको तथ्यांक अनुसार हालसम्म कोरोनाबाट मृत्यु भएका तीन हजार ६०३ वटा शव व्यवस्थापन भइसकेको छ । यो सोमबारसम्मको तथ्यांक हो । मंगलबारको सबै तथ्यांक आइनसकेको सेनाले जनाएको छ ।
तर सरकारले नेपालमा सोमबारसम्म जम्मा तीन हजार ३६२ जना कोरोनाले मृत्यु भएको जनाएको छ । यसले सरकारले कोरोनाबाट ज्यान गुमाएको तथ्यांक लुकाएको देखिन्छ ।