कोभिड–१९ संक्रमणको दोस्रो लहरले डरलाग्दो अवस्था ल्याउँछ : अर्थमन्त्री पौडेल

कोभिड–१९ संक्रमणको दोस्रो लहरले डरलाग्दो अवस्था ल्याउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं स् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन। सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए। उनले भने, ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रूपमा देखा परेको छ। हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरू गरिएको छ।

हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको-सरोकारको विषय बन्न पुगेको छ। जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई परानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं।’

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताए। सरकारले सबै प्रकारका सम्भाव्य उपायहरू अवलम्बन गरेर कोभिडविरुद्धको लडाइँलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए। संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताए।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरूमध्ये आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि बताए।