बालुवाटारमा सुरु भयो एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

बालुवाटारमा सुरु भयो एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक २ घण्टा ढिलो गरी सुरु भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बसेको थियो। बैठकको तयारीका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गरेको नेम्वाङको भनाई छ।

'बैठक सुरु हुनुअघि स्थायी कमिटीका साथिहरुले छलफल गर्नुभएको हो,' उनले भने। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आकस्मिक रुपमा बैठक बोलाइएकोले एजेण्डा सार्वजनिक नगरिएको बताए।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ सांसदलाई कारावही गर्ने विषयमा बैठकमा छलफल हुनेछ। सांसद पदबाट किन नहटाउने भन्दै ओलीले नेपाल सहित २७ नेतालाई स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरणको जवाफ नेपाल समूहका अधिकांश नेताहरुले दिसकेका छन्।

शुक्रवार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले कारवाही गर्ने जिम्मेवारी नवगठित स्थायी कमिटीलाई दिएको थियो भने कर्णालीमा पार्टीको ह्वीप नमान्ने ५ जनालाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो।

नेपालसँग मेरिट होटलमा लगातार दुई दिन छलफल भए पनि एमाले भित्रको विवाद झनै चुलिँदै गएको छ। नेपाल समूहले भने ओलीले कारवाही गर्ने, पार्टी एक नरहने चेतावनी दिँदै आएका छन्। नेपाल समूहले देशब्यापी रुपमा समानान्तर कमिटी बनाएको छ भने ओलीले गर्नसक्ने कारवाही विरुद्ध अदालतमा निवेदन दिएको छ।