ओलीविरुद्ध माधव नेपाल पक्षको रिट पेशीमा

ओलीविरुद्ध माधव नेपाल पक्षको रिट पेशीमा

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीविरुद्ध हालेको रिटमा सर्वोच्चले पेशी चढाएको छ। न्यायाधीश प्रकाशकुमार ढुङ्गानको एकल इजलासमा उक्त निवेदनको पेशी तोकिएको छ। नेकपा एमालेभित्रको आन्तरिक विवादमा अन्तरिम आदेश जारी माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका चार नेताले औपचारिक रूपमा रिट दायर गरेका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको मुद्दामा गरेको फैसलापछि ब्युँतिएको एमालेभित्रको कारबाही श्रृंखला रोक्न माग गर्दै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सर्वोच्च अदालत पुगेका थिए।

बुधबार उनीहरूले सामूहिक रिट निवेदन पेश गरेका थिए। सर्वोच्चले यसलाई थप अध्ययन गर्नुपर्ने भन्दै विचाराधीन राखेको थियो। सर्वोच्चले बिहीबार उक्त निवेदनलाई वैधानिक रूपमा दर्ता गरेको छ। आइतबार यसको सुुनवाइको पेशी तोकिएपछि सुनुवाइ हुन भने मुस्किल देखिन्छ।

उक्त मुद्दा ३०औ नम्वरमा पेशी रहेको छ। उनीहरूले दर्ता गरेको निवेदनमा आफूहरूमाथि गरिएको कारबाही अवैधानिक भएकाले अदालतले अन्तरिम आदेशमार्फत रोक्नुपर्ने जिकीर गरिएको छ।