काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास पुगेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिको सन्दर्भमा छलफल गर्न नेकपाका दुई नेता बुढानिलकण्ठ पुगेका हुन्।
चितवनमा रहेका दुवै नेता त्यहाँ आयोजित सभालाई सम्बोधन नगरी काठमाडौं आएका थिए । आउन ढिलो भएपछि उनीहरु काठमाडौंमा आयोजना भएका विजयी र्यालीमा सहभागि नभई देउवानिवास हान्निएका थिए ।
सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको प्रक्रिया, नयाँ प्रधानमन्त्रीबारे बिभिन्न अड्कलबाजी भइरहेका बेला नेकपाका अध्यक्षद्वय र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड नेपालले देउवालाई सत्ता साझेदारको प्रस्ताव गर्ने भएका छन् । कि प्रधानमन्त्रीमा आफूलाई सघाउन या आफै प्रधानमन्त्री बन्न प्रचण्डले देउवालाई आग्रह गर्ने भएका छन् । ओली देउवाको गठबन्दन हुन नदिन प्रचण्ड नेपाल देउवालाई आफ्नै समर्थनमा प्रधानमन्त्री बनाउन पनि तयार देखिएको छ ।