काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भोलि बुधबार चितवनमा गर्नलागेको सभालाई विजय सभामा परिणत गरिएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध भोलि बुधबारका लागि चितवनमा विरोध सभाको कार्यक्रम राखिएको थियो।
उक्त सभामा सम्बोधन गर्न प्रचण्ड र नेपाल मंगलबार साँझ ४ बजे उडानबाट भरतपुर गएका थिए। तर, सर्वोच्च अदालतले मंगलबार नै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेपछि प्रचण्ड–नेपालको कार्यक्रम विजयसभामा परिणत गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।
सर्वोच्चको फैसला आएपछि प्रचण्ड–नेपाल छलफलमा छन्। प्रचण्डले आफ्नै निर्वाचन क्षेत्र रहेको चितवनबाट प्रतिनिधि सभा विघटन बदर भएको खुसी साट्न पाएकोमा खुसी व्यक्त गरेका छन्। विघटन खारेज भएको निर्णयको खुशीयालीमा प्रचण्ड–नेपालले एकापसमा लड्डु बाँडेर खुशीयाली साटासाट गरेका थिए ।