काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बारे छलफल भएको छ । २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए ।
“विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनले भने, “अरू नियमित एजेन्डामा छलफल भयो ।”
आजै मात्र सुरक्षा परिषद्को बैठक बसेको थियो । बिहान बसेको सुरक्षा परिषद् बैठकले पनि विप्लवकै गतिविधिबारे छलफल गरेको थियो । निर्वाचन सुरक्षाका विषयमा पनि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले भन्यो ।