संसद पुनर्स्थापना हुने संकेत गर्दै ओलीले भने-'अदालतका सबै निर्णय उपयुक्त नहुन सक्छन्'

संसद पुनर्स्थापना हुने संकेत गर्दै ओलीले भने-'अदालतका सबै निर्णय उपयुक्त नहुन सक्छन्'

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद ब्युँतिने संकेत गरेका छन् । छेला औधोगिक क्षेत्र शिलान्यास गर्न कञ्चनपुर पुगेका ओलीले सभालाई सम्वोधन गर्दै संसद पुनर्स्थापना भयो भने पनि आफ्नो राजनीति नसकिने बताए।

उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा फैसला गर्ने तयारी गरेको भन्दै बताउँदै अदालतले गर्ने सबै निर्णय सबै समयमा उपयुक्त नहुने समेत बताए । प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्दै अबको केही दिनमा अदालतले फैसला गर्ने भन्दै अदालतले संसद पुनर्स्थापना गरेपनि आत्तिने अवस्था नभएको बताएका थिए ।

‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’ प्रधानमन्त्री ओलीले आफूले अदालतलाई धम्की वा दबाब नदिएको दाबी गर्दै आफूले आन्दोलन गर्ने भनेर नाराजुलुशतर्फ संकेत नगरेको बताएका छन् ।

उनले केही दिनअघि विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेपनि त्यो आन्दोलन नाराजुलुश नभएको बताए । उनले देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको स्पष्टिकरण दिए । आफ्ना बिरोधीहरुले नारा जुलुश बुझेको बताए ।

अदालतलाई धम्की नदिएको दाबी गर्दै उनले थपे, ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने दबाब दिने कुरामा विश्वास गर्दैनौं। मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन। हामी स्वतन्त्र न्यायालयको पक्षमा छौं, शक्ति पृथकीकरणको पक्षमा छौं।’

न्यायलयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्ने भन्दै प्रधानमन्त्रीले भने, ‘अदालतले गर्ने निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छ। त्यसकारण मानिसले पुनरावेदन गर्छन्।’ संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने र पहिलेकै समस्याहरु दोहोरिने उनले चेतावनी दिए।