प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच आकस्मिक छलफल

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच आकस्मिक छलफल

काठमाडौं । नेपालमा राजनीतिक संकट चुलिएको बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति सोमबार अपरान्ह आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका थिए । सोमबार अपरान्ह करिब १ बजे सर्वोच्च अदालत प्रवेश गरेका प्रधान सेनापति थापा एक घण्टा बिताएर फर्किएको बताइएको छ ।

स्रोतका अनुसार सर्वोच्चमा प्रधानन्यायाधीश राणा र थापाबीच भेटघाट भएको थियो । अदालतमा भएको भेटमा के कुरा भयो भन्नेबारे खुलाइएको छैन । यो भेटबारे अदालत र सेना दुबैले मुख खोलेका छैनन् । तर केहि अधिकारीहरूले भने उनीहरूबीचको भेट राजनीतिक नभएको र अहिलेको परिस्थितिभन्दा फरक बिषयमा छलफल भएको बताएका छन् ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यसविरुद्धको रिटमा सर्वोच्च अदालतले फैसला गर्ने तयारी गरेको छ। यस्तो अवस्थामा भएको भेटलाई अर्थपूर्ण मानिएको छ । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले केही दिनमै यो मुद्दाको फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन्।